कोशी प्रदेशमा पछिल्लो समय देखिएको घातक बर्डफ्लु (संक्रमणका कारण पोल्ट्री व्यवसाय चरम संकटमा परेको छ । आइतबार कोशी प्रदेशकै सबैभन्दा ठूला दुईवटा पोल्ट्री फार्ममा रहेका २ लाख २७ हजारभन्दा बढी कुखुराहरू नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । यो कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठूलो संख्यामा कुखुरा नष्ट गर्न लागिएको घटना हो ।
सुनसरीको रामधुनी नगरपालिकामा रहेको सुनसरी पोल्ट्री फार्म र मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा संक्रमण पुष्टि भएपछि सरकारी टोलीले आजदेखि ‘कुलिङ’ (कुखुरा मार्ने कार्य) सुरु गर्न लागिएको हो ।
सुनसरीको रामधुनीमा सञ्चालित प्रदेशकै ठूलो मध्येको एक ‘सुनसरी पोल्ट्री फार्म’मा बर्डफ्लु संक्रमण फैलिएको छ । बर्डफ्लुका कारण त्यहाँ रहेका १ लाख ५५ हजार कुखुराहरू नष्ट गर्न लागिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरीका प्रमुख डा. मनोज कुमार महतोका अनुसार यति ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपर्ने भएकाले प्राविधिक र कामदारहरूलाई ठूलो चुनौती थपिएको छ ।
यता मोरङको बूढीगंगा गाउँपालिकामा रहेको पूर्वाञ्चल ग्रुपको पोल्ट्री फार्ममा पनि बर्डफ्लु फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मोरङका प्रमुख डा. अजय कुमार शाहका अनुसार उक्त फार्ममा ७२ हजार कुखुरा रहेका छन् । मोरङ र सुनसरीका यी दुई ठूला घटनाले समग्र प्रदेशकै पोल्ट्री उद्योगलाई त्रसित बनाएको छ । लगभग ४५ हजार कुखुरा नष्ट गरीने भेटेरिनरी अस्पताल मोरङले जनाएको छ ।
झण्डै डेढ लाखभन्दा बढी कुखुरा मारेर खाल्डोमा पुर्नका लागि डोजरहरूको समेत प्रयोग गरिएको छ ।
सुनसरीमा बर्डफ्लुको प्रकोप भयावह बन्दै गएको देखिएको छ । डा. महतोका अनुसार अहिलेसम्म प्रभावित क्षेत्रहरुमा २ लाखभन्दा बढी कुखुरा यसअघि नै नष्ट गरिसकिएको छ । आजको ठूलो स्केलको कारबाहीपछि यो संख्या अझै बढ्नेछ ।
कोशी प्रदेशका यी ठूला फार्महरूमा भएको क्षतिले अर्बाैंको लगानी जोखिममा परेको छ । स–साना किसानदेखि ठूला व्यावसायिक घरानासम्म बर्डफ्लुको चपेटामा परेका छन् । बैंकको ऋण लिएर व्यवसाय सुरु गरेका किसानहरू आफ्नो लगानी आँखा अगाडि नै नष्ट भएको देख्दा मर्माहत भएका छन् । यद्यपि, सरकारले बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि प्रक्रियागत ढिलाइ र राहतको सीमित बजेटका कारण किसानहरू चिन्तित छन् । मोरङका पनि १० वटा प्रभासिवत क्षेत्रमा डेट लाख भन्त्दा बढी कुखुरा नष्ट गरीसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मोरङले जनाएको छ ।
अहिले प्रशासनले प्रभावित क्षेत्रलाई सिल गरेको छ र कुखुराजन्य पदार्थ (मासु, अण्डा, दाना) ओसारपसारमा कडा प्रतिबन्ध लगाएको छ । विज्ञहरूले आम उपभोक्तालाई मासु राम्ररी पकाएर मात्र खान र फार्ममा जैविक सुरक्षा का उपायहरू कडाइका साथ अपनाउन सुझाव दिएका छन् ।