विराटनगर,२४ साउन । सिराहको मिर्चैयामा विराटनगरका एक युवक मृत फेला परेका छन् । विराटनगर १० घर भएका २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको सिराह प्रहरीले जनाएको छ । पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुधबार बिहान शव फेला परेको हो । भट्टराईको शव होटेलको पछाडि शौचालय नजिक भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । भट्टराईको परिवार विहानै घटनास्थलमा पुगिसेका छन् । उनको शव पोस्टमार्टमका लागि विराटनगर ल्याउने वा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने भन्ने निर्णय हुन बाँकी रहेको विराटनगरका संचारकर्मी सुवास कार्कीले जानकारी दिए । कार्की घटनास्थलमा नै पुगेका छन् । प्रहरीले घटनाको मुचुल्का उठाउदै गरेको समेत उनले बताए ।विराटनगरदेखि मिर्चैया पुगेका भट्टराई सोही स्थानको सहदेव होटलमा बसेका थिए । तर उनको शव भने नजिकैको सम्भु हाटेलमा फेला परेको कार्कीले जानकारी दिए । घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मृतक भट्टराईले अत्याधिक मधिरा सेवन गरेको र होटलको छत नांगो भएकाले त्यहीबाट खसेको हुनसक्ने बताए ।
यता, मृतकका आफ्न्तले भने भट्टराईको हत्या नै भएको हुनसक्ने अनुमान लगाएका छन् । भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखिमाथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् । भट्टराई मंगलबार बेलुका को।१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएपछि रातीे ११ बजेतिर चालक राई सुत्न गएका थिए । भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटेलका सञ्चालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।