विराटनगर ,२४ साउन ।सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सोमवार रातिदेखि नै बेपत्ता चौधरीको शव मंगलवार बाँके खोलामा फेला परेको थियो ।त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको ज्यान गएको हो । स्थानीयले उद्धार गरी अस्पताल र्पुयाए पनि डाक्टरले मृत घोषणा गरेका थिए । बाग्मतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।यसैबीच बाढीका कारण बाग्मती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बाग्मती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो ।