.

मोरङको बुढीगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर , २३ साउन ।। मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले एकै पटक २६ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि आन्दोलित भएकाहरुले तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत गिरिराज भट्टराईका अनुसार धेरै कर्मचारी भएपछि साउन १ गतेदेखि नै लागु हुने गरि एकजना सव–इन्जिनियरसहित स्वास्थ्यका तथा केहि परियोजनाका कर्मचारीहरुको म्याद नथपिएको हो । केहि कर्मचारी परियोजना कार्यन्वयन गर्ने संघसंस्थामा कार्यरत रहेका थिए । परियोजना फेजआउट भएपछि उनीहरुको स्वतः म्याद सकिएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए ।

आन्दोलनरत कर्मचारी विवेक थन्दारका अनुसार छवर्ष अगाडीदेखि कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर हटाइएको बताए । उनले काम गरिरहेको ठाउँबाट एक्कासी हटाउने निर्णय गरिएपछि आफूहरुले तालाबन्दी गरेर आन्दोलित भएको बताए । गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरेपनि सहायक गेटबाट कर्मचारीलाई भने प्रवेश गर्न दिइएको छ ।

अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा भने बिहान १० बजेदेखि ताला लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया