.

मोरङमा डिजे बजाउन नपाइने, उल्लङ्घन गरे कानुनी कारबाही

मोरङ जिल्लाभित्र आयोजना हुने सार्वजनिक कार्यक्रमहरूमा अब जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति बिना डिजे सञ्चालन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सूचना जारी गर्दै यस्तो व्यवस्था तत्काल लागू गरिएको जनाएको हो।

प्रशासनका अनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि सार्वजनिक जमघटमा छुट्टै स्वीकृति नलिई डिजे प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

कार्यालयले सार्वजनिक शान्ति–सुरक्षा कायम राख्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा सर्वसाधारणको सहज जीवनयापनमा असर नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।

जारी सूचनामा अनुमति नलिई डिजे सञ्चालन वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ। साथै सबै कार्यक्रम आयोजक, व्यवसायी तथा सर्वसाधारणलाई प्रशासनले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

उक्त सूचना जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया