.

नेपालमा आपराधिक घटनामा वृद्धि

विराटनगर ,१७ साउन । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९–८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन्

प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्याैट भएको छ भने २३ हजार बढी मुद्दा फस्र्याैट हुन बाँकी छ । त्यसको अघिल्लो आव २०७८÷७९ मा भने ४६ हजार नौ सय दुई वटा घटना दर्ता भएका थिए ।प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताउनुभयो ।उहाँका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ ।

त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोशी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्राप्त विवरणअनुसार सिआइबीमा ४३, काठमाडौँ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बागमती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय तीन उजुरी दर्ता भएको छ । प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार एक सय ३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीको भएको छ ।

झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै तीन हजार छ सयभन्दा बढी भएको छ भने छ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।

त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया