अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको मोरङ प्रहरीले लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
दुईवटा फरक–फरक नकबजनी चोरी मुद्दामा दोषी ठहर भई एक वर्ष अघिदेखि फरार रहेका सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार आलमलाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घर वतनबाट नियन्त्रणमा लिएको हो ।
अदालतको फैसला अनुसार आलामले २ वर्ष १० महिना १२ दिन कैद सजाय तथा ३० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने हुन्छ । अदालतबाट सजाय तोकिएपछि फरार रहेका आलम लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।प्रहरीले पछिल्लो समय उनलाई केन्द्रित गरेर निगरानी बढाएको थियो । पक्राउ परेका आलमलाई प्रहरीले अदालतमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार अदालतबाट दोषी ठहर भइसकेपछि पनि फरार रहने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ ।
मोरङमा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रहरी सक्रियताले अपराध नियन्त्रण र कानुनी शासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने एसपी कटवालको भनाइ छ ।