सरकारको निर्णयअनुसार आजदेखि देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै सञ्चालनमा आएका छन् । यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेका कार्यालयहरू अबदेखि बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने भएका हुन् ।
सरकारको यो नयाँ कार्यतालिका लागू भएसँगै आज बिहानैदेखि सरकारी कार्यालयहरूमा कर्मचारी र सेवाग्राहीको चहलपहल सुरु भएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले इन्धन खपत कम गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदा दिने र कार्यालय समय हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अब सरकारी कार्यालयहरू हप्ताको पाँच दिन (सोमबारदेखि शुक्रबारसम्म) दैनिक ८ घण्टा खुल्नेछन् । शनिबार र आइतबार भने दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको छ ।
सरकारले बढ्दो व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई कम गर्न इन्धनको खपत घटाउने रणनीति अन्तर्गत यो कदम चालेको हो । यो नयाँ व्यवस्थाका बारेमा सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ ।