.

मोरङको बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा वृद्ध दम्पतीलाई विष मिसाएर खाना खुवाएको गम्भीर घटना सार्वजनिक भएको छ ।

सासू र ससुुरालाई खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विष हालिएको खाना खुवाउँदा वृद्धा सासूको मृत्यु भएको छ भने वृद्ध ससुराको अवस्था गम्भीर छ ।

स्थानीयका अनुसार शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिदा स्थानीयले उद्धार गरेर घरमा ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राईसमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचाररतमध्ये इन्द्रमायाको राति १०ः४० बजेतिर मृत्यु भएको जानकारी चौधरीले दिए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

उता इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा रहेकी सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन हिजो आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको उनले बताए ।बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

घटनास्थलबाटे विसको  बट्टा अँगेनोमा हालेर जलाइएको अवस्थामा भेटिएकाले खानामा कुन विष मिसाइएको हो भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको र पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने उनको भनाइ छ ।

घटनापछि बेलबारी क्षेत्रमा सनसनी फैलिएको छ भने स्थानीय स्तब्ध बनेका छन् । स्थानीयले निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया