भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको सो उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको छ ।
स्थलगत अनुगमनका क्रममा सो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको ,अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएपछि आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरुको पनि अनुगमन भइरहेको उनको भनाइ छ ।
हाल यो क्रसर उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा रहेको छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ ।
क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ ।