बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले २ जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले शनिबार राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।