आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि त्रिकोणात्मक शृङ्खला सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
युट्रेक्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा सुधार गर्दै शीर्ष चारमा पुग्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ।
हाल नेपाल २८ खेलबाट २८ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा छ। यस शृङ्खलासहित बाँकी खेलहरू नेपालको विश्वकप छनोट यात्राका लागि निर्णायक मानिएका छन्।
लिग–२ को शीर्ष चार टोलीले ओडीआई विश्वकप छनोट प्रतियोगितामा सिधै स्थान बनाउनेछन्। यस्तै शीर्ष छ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता (स्टाटस) सुरक्षित राख्नेछ।
त्यसैले नामिबियाविरुद्धको पहिलो खेलबाट सकारात्मक सुरुआत गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ।