नेपालमा पहिलोपटक निर्माण भएको अत्याधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ंका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सोमबार सुरुङमार्ग उद्घाटन गरेका हुन्।
उद्घाटनपछि मन्त्री लम्सालले नेपाल सुरुङमार्ग निर्माणको नयाँ युगमा प्रवेश गरेको बताए। सुरुङमार्ग उद्घाटन भएपनि तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरेपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने आयोजनाले जनाएको छ। परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिइने छैन। नियमित सञ्चालन सुरु भएपछि भने सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ।
पैदलयात्री, मोटरसाइकल, स्कुटर तथा तीनपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङभित्र प्रवेश दिइने छैन।
निर्माण सुरु भएको करिब ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो। उद्घाटनका क्रममा मन्त्री लम्सालले सुरुङमार्ग शिलान्यासका बेला राखिएको शिलालेख खोजेर पुनस्र्थापना गर्ने बताएका छन्। ।