.

राजविराज हटियापछि सिरहा रोडको अतिक्रमण हटाइँदै

विराटनगर , २१ साउन ।  सप्तरीको राजविराजस्थित हुलाकी सडक अन्तर्गत सिरहा रोडको अतिक्रमण हटाएर फराकिलो पार्न राजविराज नगरपालिकाले आइतबारदेखि अवैध संरचना भत्काउन सुरु गरेको छ।

राजविराज नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने सिरहा रोडस्थित हुलाकी सडकको दायाँ बाँया ९र९ मिटर जग्गा खाली गराउन नगरपालिकाले डोजर चलाएको हो। सडकको मध्यबिन्दुदेखि दक्षिण र उत्तरतर्फ ९र९ मिटर क्षेत्रभित्र परेको घर, टहरालगायत ओगटेको अतिक्रमित संरचना हटाउन एक साथ चारवटा डोजर प्रयोग गरिएको छ। 

डोजरले राजविराजस्थित राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्मको सडक फराकिलो पार्न अतिक्रमित संरचना हटाउन लागेको राजविराज ७ का वडा अध्यक्ष सुभाष यादवले बताए।

सात दिनभित्र अतिक्रमित घर, टहरा हटाउन नगरपालिकाले दिएको समय सीमा शनिबार सकिएपछि सडक विस्तारका लागि डोजरले अतिक्रमित संरचना भत्काउन लागेको कार्यवाहक प्रमुख इसरत परविनले बताइन्। 

सडक मिचेर अतिक्रमण गरिएको जग्गा खाली गराउने काममा नगरपालिका पछि नहट्ने बताएकी परविनले अब हुलाकी सडकअन्तर्गत राजविराजको हनुमान मन्दिरदेखि पूर्व कञ्चनपुर सडकको अतिक्रमित संरचना हटाउने बताइन्। यसअघि गत साउन १२ गते नगरपालिकाले राजविराज हटियाभित्रको अतिक्रमित संरचना हटाएको थियो।

हुलाकी सडक निर्माणका लागि कञ्चनपुर सडक, रंगशाला खेल मैदान, राजविराज नगरपालिकाको वडा ६ र ७ भएर सिरहा रोडको नक्सांकन भइसकेको छ। राजविराज बजार क्षेत्रको अतिक्रमित संरचना हटाउन स्थानीयवासीको अवरोधले निर्माण कार्यमा ढिलाइ भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया