विराटनगर, १४ साउन । जन्मसिद्ध नागरिकका सन्तानले एक महिनाको अवधिमा ५ हजार वंशज नागरिकता लिएका छन् । लामो समयपछि सरकारले जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने बाटो खुलाएपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट एक महिनामा ५ हजारले वंशज नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० देखि एक सय हराहरीमा जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने गरेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए । असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ ।
जन्मसिद्धका सन्तानलाई दिइने नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै डेस्क बनाएर काम गरिरहेको र टोकनका आधारमा कुन दिन नागरिकता लिन पाइन्छ भन्ने जानकारी दिएर पठाउने गरिएको सहायक प्रमुख पोखरेलले बताउनृभयो ।
जन्मसिद्ध नागरिकता प्राप्त गर्ने सन्तानहरू करिब ५० देखि ६० हजारको हाराहारीमा रहेको र ५० हजारलाई आधार मान्ने हो भने पनि अहिलेसम्म ४ हजार ५ सयले मात्र नागरिकता प्राप्त गरेको अवस्था छ । यो क्रम लामो समयसम्म जाने प्रशासनको अनुमान छ ।