सुनसरी–मोरङ सिंचाइ आयोजना अन्तर्गत विराटनगरको पश्चिम क्षेत्रमा रहेको मुख्य नहरमा पछिल्लो समय जथाभावी पुल, पुलिया तथा अन्य भौतिक संरचना निर्माण भइरहेको भन्दै स्थानीयले सरकारी बजेटको दुरुपयोग भएको गुनासो गरेका छन्।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालदेखि बीकेभिएम विद्यालयसम्मको दुरीमा नहर वारपार गर्न २० देखि २५ वटा साना–ठूला पुल निर्माण गरिएका छन्।
कतिपय पुल स्थानीय सरकार, प्रदेश सरकार र मोरङ–सुनसरी सिंचाइ आयोजनाको बजेटबाट बनेका छन् भने केही स्थानीयकै लगानीमा निर्माण गरिएका छन्।
छोटो–छोटो दूरीमै पुल बन्न थालेपछि आवश्यकताभन्दा बढी सरकारी बजेट खर्च गरिएको र यस्ता साना पुल निर्माणमा करिब १० देखि २० लाख रुपैयाँसम्म खर्च हुने गरी सरकारी बजेटको दुरुपयोग भएको स्थानीयले गुनासो गरेका छन् ।
विराटनगर महानगरपालिकाका योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले नहर क्षेत्रमा रहेका सबै पुल महानगरले निर्माण नगरेको र महानगरपालिकाले आवश्यकता मूल्यांकनका आधारमा मात्र ६ वटा पुल निर्माण गरेको बताए ।
यता, मोरङ–सुनसरी सिंचाइ आयोजना विराटनगरका प्रमुख मनोहर कुमार साहले आयोजनाले आवश्यकता अनुसार मात्रै पुल निर्माण गरेको बताए। स्थानीयवासीले सरकारी निकायबीच समन्वय गरी वास्तविक आवश्यकता पहिचान गरेर मात्रै नयाँ पुल निर्माण गर्नुपर्ने र सार्वजनिक बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।