विराटनगर ,११ साउन । मध्यम र भारी वर्षाको सम्भावना रहेका जिल्ला तथा आसपासका क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर तथा आसपास भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखा, लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, नवलपरासी पूर्व, रुकुम पश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, दार्चुला, बझाङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेको छ । गृह मन्त्रालयले १ असारदेखि सुरु भएको मनसुनजन्य प्राकृतिक विपद्मा परेर हालसम्म ३१ ज्नाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ।
बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएको विवरण गृहअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको हो। बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको महाशाखाले बताएको छ। बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्। ।
यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। । यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले गरेको थियो ।