.

भोलिको कोशी प्रदेशसभा बैठकमा राप्रपाका सांसदलाई उपस्थित नहुन निर्देशन

विराटनगर ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरू भोलिको कोशी प्रदेश सभा बैठकमा अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उनीहरू अनुपस्थित हुने भएका हन् । कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । उनीहरूलाई बैठकमा अनुपस्थित हुन अध्यक्ष राजेन्द्र लिङदेनले निर्देशन दिनुभएको छ । पार्टीको निर्देशन आएकै कारण बैठकमा सहभागी नहुने राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले बताउनुभयो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भने भारतको दिल्लीमा रहनु भएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको र १० करोडको अफर आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । आफ्ना सांसदहरुले थापालाई विश्वासको मत दिने त्रासमा रहेका लिङ्देनले त्यसलाई रोक्न बैठकमै अनुपस्थित हुन निर्देशन दिनुभएको हो । प्रदेशसभामा एमालेको ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन गठबन्धनसँग बहुमत सांसद (४७) छन् । तर, उपभामुखले बैठक सञ्चालन नगरेको अवस्थामा र राप्रपा पनि बैठकमा अनुपस्थित हुँदा सत्तारुढ गठबन्धनलाई बहुमत जुटाउन समस्या हुनेछ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
ZAP

ZAP