.

रोजगारीको लागि ओमान भनेर लगिएकी झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

विराटनगर , भदौ ३ । रोजगारीको लागि ओमान भनेर जानुभएकी झापाकी कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक भएको परिवारले जनाएको छ ।


अर्जुनधारा नगरपालिका ६ की ३० वर्षीय कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको हो ।


तीन वर्षअघि २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उहाँकी आमा लखी मुर्मुले जानकारी दिनुभयो ।


तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुन सकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रस्ट हुन सकेको छैन ।


कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालन पालन हजुरआमा लखीले नै गरिरहनुभएको छ । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएको थियो ।


इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्‍याएको परिवारको दाबी छ । इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताउनुभएको छ ।


‘अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ’ छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भन्नुभयो, ‘चाउचाउ र कहिलेकाहीँ रोटी आधा पेट खान दिन्छन्, काममा जान आनाकानी गर्‍यो भने पिटेछन्, घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।’


बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताउनुभयो । खान नदिने मात्र नभएर चिसो भुईँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको कमलाले बताउने गर्नुभएको छ ।


‘दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन’ लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भन्नुभयो, ‘गिरोहका मान्छेहरू सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोबाइलबाट सानो स्वरमा भ्वाइस म्यासेज पठाएको भन्छिन्, यो थाहा पाए भने मार्छन् भन्ने डर छ ।’


गिरोहले गाडीमा ओसारेर विभिन्न घर र कम्पनीमा लगेर काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताउनुभयो । बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएकोसमेत उहाँले बताउनुभयो ।


पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ ।


गएको वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यस बेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएका थिए । तर अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् ।


समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आउनुभएको बताउनुभयो । 


‘गरिब र आदिवासी समुदायको व्यक्ति भएकाले कसैले आफ्नो कुरा नसुनेको उहाँको गुनासो थियो’ बस्नेतले भन्नुभयो ‘कमला मुर्मु बिरानो मुलुकमा बन्धक अवस्थामा हुनुहुन्छ, सरकारी र प्रशासनिक क्षेत्रबाट उहाँलाई छिटो उद्धारको प्रयास गर्न आग्रह गर्दछु ।’


मुर्मु परिवारको छिमेकी सङ्गीता प्रसाईँ वंशले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुखेसो पोख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
ZAP

ZAP