.

संखुवासभा कारागारमा पाशविक यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

३२ साउन, विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेका छन् ।मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो ।

अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ ।

सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको बताए ।राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै उनले आयोगले अनुगमन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।

अमानवीय शैलीमा कुटेर कैदीलाई मारिएको आयोगको निष्कर्ष रहेको श्रोतले बताएको छ । बाहिर क्रुर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए ।राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय संखुवासभाले गरिरहेको छ । प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ ।

आठ जनाको अनुसन्धानपछि थव विषय खुल्ने उनले बताए ।शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानका लागि थप विषय अगाडि आउने बताउँदै उनले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया