.

कोशीको मुख्यमन्त्री कार्यालयविरूद्ध उच्च अदालतमा रिट दायर

कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा भएको व्यवस्था कार्यान्वयनको माग गर्दै मावन अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कोशीको मुख्यमन्त्री कार्यालयविरुद्ध रिट दायर गरेको छ ।

इन्सेकको कोशी प्रदेश कार्यालय विराटनगरले मुख्यमन्त्री कार्यालय समेतलाई विपक्षी बनाएर उच्च अदालत, विराटनगरमा उत्प्रेषणयुक्त परमादेशको रिट बिहीबार दर्ता गराएको हो । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश बाल अधिकार समितिलाई विपक्षी बनाइ अदालतमा रिट दर्ता गरिएको बताए ।

कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा ‘प्रदेशभित्रका बालबालिकाको सम्रग स्थिति, बाल अधिकार संरक्षण तथा हननको अवस्था, वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्थिति र उनीहरूलाई उपलब्ध सेवाको गुणस्तर तथा प्रभावकारिताको अवस्था समेतलाई समेटेर वार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउने भन्ने’ व्यवस्था रहेको छ । तर, त्यसको कार्यान्वयन ६ वर्षयता नभएको भन्दै इन्सेकले कोशी प्रदेश सरकारविरूद्ध रिट दायर गरेको हो ।

कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा भएको व्यवस्था बमोजिम प्रदेश बाल अधिकार समितिले वार्षिक रूपमा बुझाउनु पर्ने प्रतिवेदन ६ वर्ष समय बितिसक्दा समेत नबुझाएपछि इन्सेकले रिट दायर गरेको हो । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा व्यवस्था भएका बाल सहभागिता, प्रदेश बालकोष स्थापना, प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठनलगायत कोशी प्रदेश बाल अधिकार समितिले वैधानिक कर्तव्य र कानुनको शासन पालना नगरेकाले सो को कार्यान्वयन गर्न इन्सेकले माग गरेको छ ।

उत्प्रेषणयुक्त परमादेशको रिटमा नेपालको संविधानले धारा ३९ मा गरेको बालबालिकाको मौलिक हक र कोशी प्रदेश सरकारले २०७७ साउन २५ गतेदेखि लागू गरेको बालबालिका संरक्षण ऐन, २०७७ को अक्षरस कार्यान्वयन गर्न माग गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया