.

खोटाङको खार्ताम्छामा अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेँसीमा बुधबार अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परेको छ । बिरामी लिन तथा शव बोकेर गएको उक्त हेलिकोप्टर फर्किने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकोप्टर दुर्घटनाको पुष्टि गर्दै घटनामा कुनै मानवीय क्षति नभएको बताइन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । तर एकजना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ । हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो । गाउँपालिका अध्यक्ष समीर राईले सुरुमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचतिर लैजान खोज्दा दुर्घटना भएको जानकारी दिए ।

वडाध्यक्ष मिलन राईले घटनामा एकजना घाइते भएको पुष्टि गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार हेलिकोप्टरबाट शव निकालेर फर्किने क्रममा सामान्य दुर्घटना भएको हो ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । थप विवरण आउन बाँकी छ । दुर्गम क्षेत्रमा अवतरणको चुनौतीबीच ठूलो दुर्घटना टरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया