.

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइत,हावाहुरीकै कारण धनकुटा र सिन्धुलीमा दर्जनौं घरमा क्षति , विद्युत अवरुद्ध संगै कृषिबाली नष्ट

हावाहुरीका कारण धनकुटा र सिन्धुलीमा दर्जनौं घरमा क्षति, विद्युत अवरुद्ध, कृषिबाली नष्ट 

उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ ।यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।

हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् ।घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विराटनगर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताउनुभयो । हुरीबतास र वर्षाको कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएएको छ ।

सोमबार साँझ आएको विनाशकारी हावाहुरी र असिनापानीले धनकुटामा लाखौँ रुपैयाँ बराबरको भौतिक तथा कृषि बालीमा क्षति पुर्याएको छ । हावाहुरीका कारण सरकारी कार्यालय, शिक्षण संस्था, निजी घर, गोठ र सडक पूर्वाधारमा ठूलो नोक्सानी भएको छ ।

हावाहुरीले सडकछेउका रुख ढालेपछि सोमबार रातिदेखि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड मंगलबार बिहानबाट मात्र सञ्चालनमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सडकमा खसेका रुख र अवरोध हटाएपछि यातायात पुनः सुचारु भएको हो । लोक सेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय र निजामती विद्यालयका भवनमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ । विवरण आएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय लिइने उनले बताए ।

हावाहुरीबाट प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै, जिल्लाका अधिकांश क्षेत्रमा घरका छाना उडेका छन् भने केही परिवार त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।

विद्युततर्फ ३३ केभी प्रसारण लाइनमा रुख ढल्ने र तार चुँडिने समस्या देखिएपछि सोमबार रातिदेखि जिल्लाभर सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले मंगलबार साँझसम्म कम क्षति भएका क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भइरहेको बताए । प्राधिकरणले चट्याङका कारण मिटर वा वायरिङमा क्षति पुगेको आशंका भएमा तुरुन्त मेन स्विच बन्द गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरतकुमार थापा क्षत्रीले हालसम्म मानवीय क्षति नभएको पुष्टि गरे । प्रहरीले जिल्लाभरका गोठ र कृषि बालीमा भएको क्षतिको थप विवरण संकलन गरिरहेको बताए ।

यसै गरि

सिन्धुलीमा सोमबार राति आएको हुरी बतासले दर्जनौं घरमा क्षति पुर्याएको छ । खास गरेर जिल्लाको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र  कमलामाई नगरपालिकामा बढी क्षति भएको छ । 

सुनकोसी गाउँपालिकामा मात्र दर्जनौं घरको छाना उडाएको गाउँपलिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ । हावाहुरीले रातको समयमा घरको छानो उडाउदा दर्जनौं परिवारको विचल्ली भएको छ । 

उता हावाहुरी र वर्षाका कारणा भएको क्षतिको विवरण संकलन भईरहेको प्रहरीको भनाई छ । जिल्लामा मानविय क्षति नभए पनि जिल्लाका विभिन्न भागमा विद्युत सेवा अवरुद्ध भएको छ । रूखहरू ढल्ला विद्युतको पोलहरू नै भाँचिएका छन् । विहानैदेखि विद्युत मर्मत थालिएको छ । सयौं विगाहमा लगाइएको मकैबाली, तरकारी तथा फलफूल खेतीमा हावाहुरी र असिनाले क्षति पुर्याएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया