झापाको हल्दिबारीमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका–२ का ३७ वर्षीय सुनिलराम सोरेनको घर नजिकैको खेतमा जमेकोपानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजमिस्त्रीको काम गर्ने सोरेन काम सकेर घर फर्कने क्रममा मादक पदार्थ सेवन गरी लडेर पानी जमेको खेतमा डुबेका थिए। उनी घरभन्दा करिब पाँच सय मिटर पूर्वतर्फ रहेको खेतमा मृत अवस्थामा फेला परेका हुन्।
आज बिहान करिब ७ बजे स्थानीयले शव देखेपछि प्रहरी चौकी हल्दिबारीलाई खबर गरेका थिए। घटनालगत्तै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी गुरुप्रसाद तिम्सिनाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।