सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा यात्रुबाहक बसमा मंगलबार राति भीषण आगलागी भएको छ। आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्र खड्काका अनुसार आगलागीबाट को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायात र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै, को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ।
ब्मखभचतष्कझभलत
प्रहरीको प्रारम्भिक अनुसन्धानले बसको वायरिङमा ‘सर्ट सर्किट’ भएर आगो लागेको देखाएको छ। ‘सीसीटिभी फुटेज जाँच गर्दा कुनै शंकास्पद गतिविधि देखिएको छैन,’ डीएसपी खड्काले भने, ‘बसकै प्राविधिक गडबडीका कारण आगलागी भएको हाम्रो अनुमान छ। यद्यपि, थप अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार आगलागीको सुरुवात विराटनगर–धरान रुटमा चल्ने को १ ख ६२७४ नम्बरको कृष्ण बसबाट भएको थियो। रोचक कुरा के छ भने, सोही बसमा एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागी भएको थियो। उक्त बस मंगलबार राति करिब ९ बजे पार्किङका लागि ग्यारेजमा छिरेको र त्यसको आधा घण्टापछि नै आगो सल्किएको देखिएको छ।
राति १० बजे जानकारी पाएलगत्तै पुगेको प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ग्यारेजमा रहेका अन्य सवारीसाधन र भौतिक संरचनामा थप क्षति हुनबाट जोगिएको छ।