पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा खण्डमा बुधबार अपरान्ह बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो । अपरान्ह १२ः१५ बजेतिर उक्त वस्तु फेला परेको थियो ।
अहिले इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
उक्त वस्तु बम हो वा हैन भन्ने यकिन छैन । बिहीबारको प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उक्त वस्तु राजमार्गमा राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसैबिच
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलाको पुल नजिकै सर्वसाधारणलाई त्रसित तुल्याउने गरी राखिएको शंकास्पद वस्तु सुरक्षा फौजको टोलीले निष्क्रिय पारेको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत राजमार्ग नै बन्द हुने गरी मंगलबार साँझ राखिएको उक्त वस्तु सुरक्षाकर्मीको गस्ती टोलीले देखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले निष्क्रिय बनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले फेला परेको वस्तु विष्फोटक पदार्थ नभएको बताए। उनले उक्त वस्तु फलामको पाइप भएको र गाडीबाट झरेको हुन सक्ने उल्लेख गर्दै प्रहरीले देखेपछि त्यसलाई सुरक्षित रूपमा साइड लगाइएको बताए।
सुरक्षा टोलीले विष्फोटक पदार्थ नभएको दाबी गरिरहँदा स्थानीयले भने उक्त वस्तु निष्क्रिय पार्दा ठुलो आवाज आएकाले त्यो शंकास्पद वस्तु नै भएको बताएका छन्।
राजमार्ग नै अवरुद्ध हुने गरी उक्त वस्तु कसले र कुन मनसायले राख्यो भन्ने स्पष्ट हुन सकेको छैन। यद्यपि भोलि हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने अनुमान गरिएको छ।