.

वस्तुले घाँस खाएको निहुँमा खुकुरी प्रहार गरी हत्या

संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । वस्तुले घाँस खाएको निहुँमा भएको सामान्य विवादले उग्र रूप लिँदा ५९ वर्षीय शिवकुमार राईले सोही स्थानका ४७ वर्षीय लिलाप्रसाद राईको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार अपरान्ह उनीहरूबीच विवाद भएको थियो । विवादका क्रममा आवेशमा आएर शिव कुमारले आफूसँगै बोकेको खुकुरी निकालेर लिलाप्रसादमाथि प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लिलाप्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित शिव कुमार राईलाई घटनास्थलबाटै हत्यामा प्रयोग गरिएको खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार पक्राउ परेका राईमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ । मृतक र अभियुक्त दुवै सोही वडाका बासिन्दा हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया