.

प्रहरीको ‘ड्रग स्विप’ः ८३८ किलो गाँजा र ब्राउन सुगरसहित ११ जना पक्राउ

पूर्वी नेपालका पहाडी र तराईका जिल्लाहरूमा प्रहरीले लागुऔषध विरुद्धको सक्रियता बढाएसँगै ठुलो परिमाणमा गाँजा र ब्राउन सुगर बरामद भएको छ । भोजपुर, धनकुटा, मोरङ र झापाका विभिन्न स्थानमा गरिएको कारबाहीमा ८३८ किलोभन्दा बढी गाँजा र १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैबिच

प्रहरीले सबैभन्दा ठुलो सफलता भोजपुरमा हात पारेको छ । माघ १५ गते बिहान प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले हतुवागढी गाँउपालिका–९ मचुवाबाट धनकुटातर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई चेकजाँच गर्दा ४३ वटा बोरामा कोचिएको ८२६ किलो ६६० ग्राम गाँजा फेला पारेको हो ।

उक्त परिमाणको गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा आमचोक–९ का रुद्र बहादुर श्रेष्ठ, निशान मगर, नीर बहादुर श्रेष्ठ, धनकुटा सहिदभूमिका सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के, दिप कुमार बिसुन्के र ताप्लेजुङ मिरिङ्डेनका लाक्पा शेर्पा रहेका छन् ।

त्यस्तै गाँजासँगै प्रहरीले झापा र मोरङमा ब्राउन सुगर (खैरो हिरोइन) नियन्त्रण अभियानलाई पनि तीव्र बनाएको छ । झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट २८ वर्षीय अरुष दासलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।


त्यसैगरी, विराटनगर–१५ स्थित १ नम्बर ढाटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक–४ का एलिस कार्कीलाई ९ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।यता धनकुटाको साँगुरीगढी–५ स्थित ओख्रेमा प्रहरीले को २२ प १०३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालक फरार भएका छन् । उक्त मोटरसाइकलमा रहेको बोराबाट प्रहरीले १२ किलो गाँजा बरामद गरेको छ । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय पूर्वी पहाडबाट तराईतर्फ गाँजा तस्करी गर्ने र सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर भित्र्याउने गिरोहमाथि प्रहरीले निगरानी कडा पारेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया