कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुधबार संखुवासभा जिल्लास्थित प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन गरेको छ। मुख्य न्यायाधिवक्ता नारायण बस्तीको नेतृत्वमा रहेको टोलीले कारागारको भौतिक अवस्था, मानव अधिकारको स्थिति र कैदीबन्दीको जीवनयापनबारे प्रत्यक्ष जानकारी लिएको हो।
अनुगमनका क्रममा संखुवासभा कारागारको अवस्था निकै दयनीय पाइएको छ। ५५ जनाको क्षमता रहेको यस कारागारमा हाल क्षमताभन्दा झण्डै चार गुणा बढी अर्थात् १५७ जना कैदीबन्दी राखिएका छन्। जसमा १४७ पुरुष, ८ महिला र दुई जना आश्रित बालबालिका छन्।अत्यधिक भीड र समस्या कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीहरूले खानेपानी, बसोबास र सुत्ने व्यवस्थामा गम्भीर समस्या झेल्नुपरेको गुनासो गरेका छन्। एउटै कोठामा धेरै व्यक्ति हुँदा कतिपयले पालैपालो सुत्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए। अनुगमन टोलीले यसलाई मानवीय व्यवहारमा गम्भीर प्रश्न उठ्ने अवस्था भन्दै कारागार प्रशासनलाई सुधारका लागि निर्देशन दिएको छ।
भिडियो कन्फ्रेन्स सेवा बन्द हुँदा समस्या कैदीबन्दीहरूले पछिल्लो समय अदालतबाट सञ्चालन हुँदै आएको ‘भिडियो कन्फ्रेन्स’ सेवा बन्द भएकाले मुद्दा सुनुवाइमा ढिलाइ भएको गुनासो गरेका छन्। उनीहरूले यो सेवा पुनः सञ्चालनका लागि पहल गरिदिन अनुगमन टोलीसँग आग्रह गरे।
अनुगमनका क्रममा टोलीले कैदीबन्दीको पुनःस्थापना र सीप विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ। मुख्य न्यायाधिवक्ता बस्तीले कोशी प्रदेशका भोजपुर, धनकुटा र संखुवासभाका कारागारहरूको अनुगमन गरिएको र यसले न्यायिक प्रणाली सुधारमा सहयोग पुग्ने बताए।