.

सुनसरी दुर्घटनाः पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति

बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनाका मृतक परिवारलाई प्रतिव्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति जनाएको छ। महासङ्घले उक्त निर्णय प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनको स्पष्ट उल्लङ्घन भएको दाबी गर्दै यसले समग्र यातायात व्यवसाय नै सङ्कटमा पार्ने चेतावनी दिएको छ।

कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै प्रशासन र प्रहरी मिलेर व्यवसायीलाई दबाबमा पारी मनपरी सहमति गराउनु न्यायसङ्गत नभएको महासङ्घको ठहर छ। गत माघ २ गते बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ मार्बल बोकेर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिँदा चन्द्रबहादुर गुरुङ, निशम कुमार गुरुङ, धिरेन्द्र गुरुङ, टंकबहादुर गुरुङ र ब्रह्मदेव गुरुङको ज्यान गएको थियो। उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा बसेको बैठकले प्रति मृतक ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार रोयल मार्बल प्रालिले ४ लाख ५० हजार रुपैयाँ व्यहोर्ने र बाँकी रकम विभिन्न चरणमा भुक्तानी गर्ने सहमति गरिएको छ।

महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सवारी तथा यातायात व्यवस्था ऐनले मृतकका हकदारलाई अधिकतम ५ लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्चको व्यवस्था गरेको स्मरण गराउँदै प्रशासनिक सहमतिका नाममा व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थोपर्ने काम गरिएको बताए। यसैबीच कोशी प्रदेशका संयोजक विनोद खड्का र उपाध्यक्ष विद्यापति उपाध्यायको नेतृत्वमा शनिबार बसेको व्यवसायीहरूको बैठकले पनि उक्त निर्णय तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया