श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै पार्टीका उपाध्यक्ष देवराज लामालाई पदबाट निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि साम्पाङले नैतिकताको आधारमा उनलाई निलम्बन गरेको घोषणा गरेका हुन् ।
बुधबार भिडियो सन्देश जारी गर्दै साम्पाङले अनुसन्धान नटुंगिएसम्मका लागि लामालाई जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए उनका अनुसार लामा निर्दोष साबित भएमा पार्टीमा पुनः स्वागत गरिनेछ भने दोषी ठहर भएमा पूर्ण रूपमा निष्कासन गरिनेछ ।
उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र विगतमा जेल जीवन समेत भुक्तान गरिसकेको चर्चा भइरहँदा साम्पाङले भने पक्राउको ‘टाइमिङ’ प्रति प्रश्न उठाएका छन्।
दशकौँ पुरानो घटनालाई लिएर अहिले पक्राउ गरिनुमा राजनीतिक षड्यन्त्र लुकेको उनको दाबी छ ।साम्पाङले यस्ता षड्यन्त्रबाट आफूहरू विचलित नहुने समेत बताए ।