विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार ट्रकमा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई बिहान ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी पाउनसाथ सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा नेतृत्वको टोली घटनास्थल पुगेर उद्धारमा जुटेको थियो ।
त्यसअघि नै घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकहीबाट वरिष्ठ सइ अशोक कोइराला नेतृत्वको टोली पुगेको थियो । दुर्घटनामा परेर करिब ३५–४० वर्षीय पुरुष र करिब ४०–४५ वर्षीया महिलाको मृत्यु भएको डीएसपी खतिवडाले बताउनुभयो ।
उनका अनुसार पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा १०ः३० बजेतिर र महिलाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा १२ः४५ बजेतिर मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र सनाखतको प्रयास भइरहेको जानकारी खतिवडाले दिनुभयो ।