विराटनगर । श्रीमानको कुटाइबाट मोरङको कानेपोखरीकी १ जना महिलाको मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिन्भयो ।
उहाँका अनुसार घरायसी विवादका क्रममा ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्बीमाथि आइतबार राति ८ बजेतिर उनले कुटपिट गरेको प्रहरीको भनाइ छ ।
कुटपिटपछि कानमा चोट लागेर घाइते हुनुभएकी दुर्बी सतारलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी उनलाई परिवारले आफुखुशी सोमबार अस्पतालबाट लगेका थिए । उहाँको बाटोमा लाँदा लादै मृत्यु भएको प्रहरीको भनाइ छ ।
श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।