विराटनगर । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ ।
तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दशैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ ।
सिङ्जेमा ताल फक्ताङ्लुङ–७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ । समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन ।
प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ ।