.

मन्टेश्वरीको सेप्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि सञ्चालकसहित तीन जना पक्राउ

विराटनगर,२७ असार ।मन्टेश्वरीका विद्यार्थीको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएपछि सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।झापाको सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । 

गत सोमवार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएपछि अनुसन्धानका लागि मेचीनगर नगरपालिका १० स्थित मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर ११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौं ३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ ।

मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् ।सेप्टी ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलवार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यानसम्बन्धी कसुरमा कानूनी कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए ।

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया