विराटनगर , १३ असार । वैदेशिक रोजगारीको प्रक्रियाकै क्रममा ६० प्रतिशतभन्दा धेरै नेपालीहरू नेपालमै ठगिने गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने पिपल फोरमले चालु आर्थिक वर्षमा २८ सय ८२ जनालाई कानुनी सहायता दिँदा उनीहरूमध्ये ६०.५२ प्रतिशत प्रक्रियाको क्रममा नेपालमा नै ठगिने गरेको पाइएको अधिवक्ता सुदीप देवकोटाले जानकारी दिनुभयो ।वैदेशिक रोजगारीको क्रममा ठगीमा परेर न्याय माग्न आउनेमा पुरुषको सङ्ख्या धेरै रहेको छ । २५ सय २१ पुरुष र ३६१ महिला रहेका छन् ।नेपालबाट वैदेशिक रोजगारीमा भनेर उडिसकेपछि १३.१८ प्रतिशत नेपाली यूएईमा पुगेर ठगीमा परेका छन् भने साउदीमा १२. १७ प्रतिशत व्यक्तिहरू ठगीमा परेको पिपल फोरमको तथ्याङ्क छ । त्यसपछि मलेसिया, कुवेत, कतार कम्बोडिया लगायतका अन्य युरोपेली देशमा पुगेर पनि नेपालीहरू ठगीमा पर्ने गरेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीमा पठाउँछु भनेर पैसा उठाउने तर नपठाउने सबैभन्दा धेरै रहेको पाइएको छ ।
पिपल फोरममा आएका मध्ये ५३.७२ प्रतिशतलाई एजेण्ट तथा म्यानपावरहरूले वैदेशिक रोजगारीमा पठाउँछु भनेर रकम अशुल्ने तर नपठाउने गरेको पाइएको हो । पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा हुने विभिन्न किसिमका ठगी मध्ये सबैभन्दा धेरै रकम लिने र विदेश नपठाउने समस्या बढी रहेको अधिवक्ता देवकोटा बताउनुहुन्छ ।
यस्तै १७.३४ प्रतिशतले भने विदेश पुगेपछि काम र तलब नपाउने समस्या भोग्ने गरेका छन् भने वैदेशिक रोजगारीमा विदेश पुगेर अलपत्र पारिएका १७.१५ प्रतिशत श्रमिकहरूको उद्धार नै गर्नु परेको छ ।
पिपल फोरमका अनुसार पछिल्लो समय वैदेशिक रोजगार बेचबिखन पनि बढेको छ । विदेश पुग्नेहरूले फरक काम र फरक तलब पाउने, तोकिएको भन्दा कम तलब हुने, मेडिकल अनफिट हुने र कतिपय म्यानपावर र एजेण्टले पासपोर्ट जफत गरेर राख्ने समस्या लिएर पनि श्रमिकहरू पिपल फोरममा आउने गरेका छन् ।