विराटनगर , १० असार । गत वर्षभन्दा यस वर्ष चैते धानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको पाँच सय ५० देखि ६ सयसम्म मूल्य पाएको चैते धान यस वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ।
चैतमा रोपेर असारमा काटिने चैते धानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए।
चैते धान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा पाँच सय दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन्। एक बिघा जमिनमा चैते धान लगाउने गरेका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए।
मोरङमा १ लाख ११ हजार खेतीयोग्य जमिन रहेकोमा २१ हजार नौ सय हेक्टरमा मात्र चैते धान लगाउने गरिएको र ८३ हजार तीन सय हेक्टरमा बर्खे धान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए। उनले यसमा पाँच दशमलव पाँच टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको बताए।
उचित मूल्यको कमीले चैते धानप्रति कृषकको आकर्षण घट्दो थियो तर यस वर्षको मूल्यले कृषकमा आकर्षण बढाएको छ। हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैते धान लगाउने गरिन्छ।