.

कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ,बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चल्दै

विराटनगर, ४ असार । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकादेखिको भारी वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरुमा ठूलो धनजनको क्षति भइसकेको छ ।

आज पनि मेघ गर्जन र चट्याङसहित बाढी, पहिरो भू–क्षय र गेग्रान बहावको सम्भावना रहेको तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

यसै गरि सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको अवस्था अझै थाहा हुन सकेको छैन । बेपत्ताको खोजी भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परेर  सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको ज्यान गएको हो ।

धनकुटाको छथर जोरपाटीमा तमोर नदी किनारमा हिजो बेलुकी एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सङ्खुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । यी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुल र जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

कोशीका विभिन्न जिल्लामा २० घर बगाएको र आठ घरमा आंशिक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सङ्खुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बगाएको  छ । पाँचथरका ३१ घरपरिवार विस्थापित भएका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले बढी क्षति पुर्याएको छ ।बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीसमेत खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागेको सरकारले  जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया