.

कोशी प्रदेशका ३ जिल्लामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति

विराटनगर, ३ असार ।  मनसुन भित्रिएको साता दिन पनि नपुग्दै पूर्वी पहाडी जिल्लाहरु बाढीपहिरोको चपेटामा परेका छन्।  । कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ ।  पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको छ ।  पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै, फिदिम –४ र हिलिहाङ–७ को सिमाना माँझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ । 

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार अहिलेसम्म बाढीले हेवाखोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा सडक पुल, तमोर करिडोर एउटा  पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा त्यही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्काे सडक पुल बाढीले बगाएको छ । यो ठाउँबाट जलविद्युत आयोजनाको एउटा ‘एक्स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति र्पुयाएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका प्रायजसो जलविद्युत आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपालमा हरेक वर्ष मनसुनमा जनधनको ठूलो क्षति हुँदै आएको छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ ।

मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी गरिएको र यसमा पालिकाको मुख्य भूमिका हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभएको छ । विपदमा प्रभावित भएकाहरुले तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न पनि उहाँको आग्रह छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया