जनताको जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड
१४ भदौ २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर , १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन)का अवसरमा शुभकामना दिँदै उहाँले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताउनुभयो । प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ ।
जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उहाँले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।