विराटनगर , ८ साउन । लामो समयदेखि चयन हुन नसकेको संसदीय समितिका सभापतिहरुका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न बाँकी छ।
संघीय संसद सचिवालयले बिहीबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । गत साउन २२ गते सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय सभापति बाँडफाँट गर्ने समझदारी भएको थियो । जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्।
सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक समिति र संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेको भागमा छ ।
यीमध्ये सार्वजनिक लेखा समितिमा धेरैको नजर छ । स्रोतका अनुसार सार्वजनिक लेखा समितिको सभापति एमालेले सांसद ऋषिकेश पोखरेललाई पठाउने तयारी गरेको छ ।
लेखा समितिमा एमालेबाट ८ जना सांसद सदस्य छन् । पोखरेलसहित योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी,सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली लेखा समितिको सदस्य छन् ।
एमाले स्रोतका अनुसार सभापतिमा कसलाई पठाउने भन्ने विषयमा औपचारिक छलफल नभए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई सभापति बनाउने संकेत गरेका छन् ।
एमालेका एक उच्च तहका नेताले दिएको जानकारी अनुसार कांग्रेस नेतृ सुजाता कोइरालाला पराजित गरेको र मोरङमा प्रतिनिधिसभामा एमालेको साख जोगाएका कारण उनी पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासिला पात्र मानिन्छन् । लगभग पोखरेल लेखा समितिको सभापति बन्ने ती नेताले बताए ।
नेकपा एमालेको मोरङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका पोखरेल मोरङ क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका पोखरेललाई पार्टी अध्यक्षले मौका दिन लागेको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?