विराटनगर ,११ साउन । अर्थमन्त्री डा। प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताउनुभएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्बन गरिसकेको बताउदै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताउनुभयो ।
उहाँले सुन प्रकरणमा मेसिन वा मानविय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दावी गर्नुभयो। मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिनुभयो।
\उहाँले अपराध गर्ने व्यक्तिहरुले नयाँ–नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राख्नुभयो।
मन्त्री महतले बिमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको बताउनुभयो । राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैर कानुनी गतिविधिहरु कम भएर जाने उहाँले बताउनुभयो।
अर्थमन्त्री महतले विमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरीक्षण गर्नुभएको थियो । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरीक्षण गर्नुभएको थियो।
केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको वस्तुमा सुन पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।