चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङमा सोमबार राति भएको भेटवार्तामा क्रममा द्विपक्षीय सम्बन्धका आयामको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । सोही अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।
द्विपक्षीय भेटवार्ताका क्रममा रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य गर्ने छलफल भएको हो ।
भेटका क्रममा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामको बारेमा सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको छ । मन्त्रालयले दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेको जनाएको हो ।
चीनका विदेश मामिलामन्त्री वाङको निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएका मन्त्री खनाल यहि असार ३ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।