सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
त्यसका लागि दुबै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसलाई ताहिर अली भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नेछन् ।
यस्तै, सांसद आरेन राईले रूबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकले प्रतिनिधि सभाको नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि औपचारिक प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।
यसैबिच
।उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने छ ।
रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।