कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा विद्यमान कानुनी रिक्तता अन्त्य गर्न र शासन व्यवस्थालाई चुस्त बनाउन संसद्ले अब ढिलाइ गर्न नहुने बताएकी हुन्।
सभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै मन्त्री गौतमले संघीय संसद्लाई कुरा गर्ने थलो मात्र नभई परिणाममुखी काम गर्ने थलोका रूपमा स्थापित गर्न आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारिन्। जनताका आवश्यकता सम्बोधन गर्न र सरकारलाई जनउत्तरदायी बनाउन संसद्को भूमिका अहम् हुने उल्लेख गर्दै उनले अब ठोस निर्णय लिने साहस देखाउनुपर्ने बेला आएको बताइन्।
पुरानो ढिलासुस्ती गर्ने कार्यशैली र संस्कारलाई तोड्नुपर्नेमा जोड दिँदै मन्त्री गौतमले कानुन निर्माणमा कुनै पनि बहानामा आलटाल गर्ने छुट नभएको उल्लेख गरिन्। कानुन मन्त्रालयका तर्फबाट सरकार र संसद्बीच प्रभावकारी समन्वय गर्दै विधेयकहरूलाई छिटोछरितो ढङ्गले अघि बढाउन आफू दृढ रहेको उनको दाबी छ।
संसद्ले आफ्नो पहिचान काम गर्ने निकायका रूपमा बनाउनुपर्ने धारणा राख्दै मन्त्री गौतमले सबै सांसद र राजनीतिक दलहरूलाई कानुन निर्माणको महाअभियानमा सक्रियताका साथ जुट्न आग्रह समेत गरिन्। नयाँ सरकार गठन भएसँगै कानुन निर्माणका कामहरूले गति लिने अपेक्षा गरिएको छ।