नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालतको निरीक्षण गरेकी छन्। आइतबार बिहान कार्यालय समय सुरु भएसँगै उनी भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको अदालतको भौतिक संरचनाको वस्तुस्थितिबारे जानकारी लिन पुगेकी हुन्।
निरीक्षणका क्रममा मन्त्री गौतमले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायत अन्य न्यायाधीशहरूसँग भेटघाट गरिन्। सो अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा उनले न्याय क्षेत्रको सुधार र भौतिक संरचनाको पुनर्निर्माणका विषयमा छलफल गरेकी थिइन्।
आन्दोलनका क्रममा ध्वस्त भएको अदालतको संरचनालाई छिटो दुरुस्त बनाउने र न्याय सम्पादनलाई प्रभावकारी बनाउने विषयमा सरकारले प्राथमिकता दिने उनले बताइन्। मन्त्री नियुक्त भएपछि गौतमको यो पहिलो औपचारिक सर्वोच्च अदालत भ्रमण हो।