नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र (बालेन) शाह नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा शाहलाई आजै दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा पद तथा गोपनीयताको शपथ गरउनु भए संगै नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई हिजो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
नवनियुक्त प्रधानमन्त्री शाह गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले झापा–५ मा प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभयो ।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवादेवी शाहका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०४७ साल वैशाख १४ गते काठमाण्डौको नरदेवीमा भएको हो । उहाँको पुख्र्याैली घर महोत्तरीको एकडारा हो । ‘र्याप आर्टिस्ट’ का रूपमा समेत ख्याति कमाउनुभएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ ।
२०७९ सालको पालिका चुनावमा शाह काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उहाँले गएको माघ ४ गते महानगरको मेयर पदबाट राजीनामा दिनुभएको थियो ।
शाहले काठमाण्डौको मेयर हुँदा शहरी विकास, पर्यटन, शिक्षा र अर्थतन्त्रलगायत प्रवद्र्धनका लागि योगदान गर्नुभएको छ । महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा शहरी व्यवस्थापन गर्ने काम पनि गर्नुभएको छ ।
शाहले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय सहभागिता जनाउनुभएको थियो । पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गर्नुभएका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिनुभएको छ । शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीतमार्फत् देशप्रतिको चिन्ता व्यक्त गर्नुभएको थियो । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनमा समर्थन जनाउनुभएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने मुख्य अभिभारा छ ।
त्यसैगरि नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो । शाह नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बन्नुभएको छ ।