गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ आठ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको छ ।
निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना शुरू हुन बाँकी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
पर्सि बुधवार बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि ’थ्रेसहोल्ड’ पार गरेका दलहरूले प्राप्त गरेका मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।
निर्धारित सङ्ख्यामा समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि त्यो नामावली समावेशी क्लस्टर बमोजिम मिले÷नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ ।
आउँदो चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
यस्तै
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व देखिएको छ। निर्वाचन आयोगका अनुसार १६५ मध्ये १६१ क्षेत्रको नतिजा आउँदा रास्वपाले ऐतिहासिक १२४ सिटमा जित दर्ता गरेको छ।
पछिल्लो विवरणअनुसार नेपाली कांग्रेस १७ र नेकपा एमाले ८ सिटमा खुम्चिएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३ तथा राप्रपा र स्वतन्त्रले एक–एक सिट जितेका छन्। अब गणना बाँकी रहेका चार क्षेत्रमध्ये रास्वपा, कांग्रेस र एमालेले एक–एक स्थानमा अग्रता लिइरहेका छन् भने धनुषा १ मा उम्मेदवारी खारेजीसम्बन्धी कानुनी विवादका कारण परिणाम रोकिएको छ।
यसपटकको निर्वाचनमा मतान्तरको रोचक तथ्याङ्क बाहिर आएको छ। झापा ५ मा रास्वपाका बालेन्द्र शाहले ४९ हजारभन्दा बढी (५६.९७ प्रतिशत) को विशाल मतान्तरले जितेका छन् भने झापा २ मा इन्दिरा राणा मगर ४८ हजारभन्दा बढी (६८.१९ प्रतिशत) मतान्तरले विजयी भएकी छन्।