.

मतदानका लागि परिचयपत्र लिएर जान आयोगको आग्रह

निर्वाचन आयोगले बिहीबार मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रुपमा साथमा लैजान आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदातालाई मतदान प्रक्रिया र आवश्यक कागजातका बारेमा स्पष्ट जानकारी गराएका हुन् । उनका अनुसार मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा पनि मतदानबाट वञ्चित हुनु पर्दैन ।

यस्तो अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को सक्कल प्रति देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।


तर, मतदाता नामावलीमा नाम भने हुनुपर्ने छ । मतदान केन्द्रमा पुगेपछि मतदाताको नामावली नाम रुजु गरिनेछ । त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ ।


मतदाताले गोप्य मतदान कक्षमा गई आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मतपेटिकामा खसाल्नुपर्नेछ । त्यसपछि समानुपातिकतर्फको मतपत्र प्रदान गरिनेछ । जसमा मनपरेको राजनीतिक दलको चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।


भिडभाड कम गर्न मतदान केन्द्रमा प्रवेश र बाहिरिने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको आयोगले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया