विराटनगर , ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सात दिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्। परराष्ट्रमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहाल असोज ६ देखि १३ ९२३(३० सेप्टेम्बर० गतेसम्म सात दिने औपचारिक भ्रमणमा चीन जान लागेको जानकारी गराएको हो।
प्रधानमन्त्री दाहाल चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको चीन भ्रमणमा सरकारका मन्त्रीहरू पनि सहभागी हुनेछन्।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद,खानेपानी मन्त्री महिन्द्रराय यादव,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाओमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। समकक्षी ली छ्याङसँग बेइजिङमा द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको छ। बेइजिङस्थित नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि प्रधानमन्त्री दाहालले भेट गर्नेछन्।
यस्तै, प्रधानमन्त्री दाहालले बेइजिङस्थित नेपाली दूतावासको संयुक्तरुपमा आयोजित चीन(नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि उनी असोज ६ गते ९२३ सेप्टेम्बरमा० हाङजाओमा हुने १९ औं एसियाली खेलकुदको उद्घान समारोहमा सहभागी हुनेछन्।
कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्री दाहालले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल हाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क गएका छन्। प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन जानेछन्।
सातदिने चीन भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज १३ गते सेप्टेम्बर ३० स्वदेश फर्किने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?